अत्तरियाको कृषि हाटबजारबाट संकलन गरिएको तरकारीको २० नमुनामा रेड लेबलको विरादी अवशेष भेटिएपछि सो तरकारी नष्ट गरियो । गत आर्थिक वर्षमा अत्तरिया कृषि हाटबजारस्थित विषादी अवशेष द्रुत विश्वेषण इकाईले दुई हजार ७१७ नमुना परीक्षण गर्दा २० नमुनामा रेड लेबलको विषादी भेटिएको थियो । ९ वटा नमुनामा एल्लो लेबलको विषादी अवशेष भेटिएको थियो ।
विगतमा भारतबाट आउने तरकारीमा अत्यधिक विषादी प्रयोग भएको भेटिएपनि पछिल्लो समयमा नेपालमै उत्पादन हुने तरकारीमा पनि अत्यधिक विषादी प्रयोग भएको भेटिन थालेको छ । बेमौसमी तरकारीको रुपमा उत्पादन हुने व्यावसायिक कृषि फर्मबाट ल्याइएका तरकारीमा बढी विषादी प्रयोग भएको फेला परेको छ ।
नमुना परीक्षण गरिएका तरकारीमा रेड लेबलको विषादी अवशेष भेटिँदा नष्ट गरिएपनि अधिकांश तरकारी परीक्षण नै नगरी भान्सासम्म पुग्ने गरेका छन् । यसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव पारेपनि यसको नियामक निकाय मौन छ । कृषि उत्पादन बढाउने नाममा अत्यधिक विषादी प्रयोग भइरहँदा कृषि क्षेत्रका निकायले न त किसानलाई विषादी प्रयोगबारे सचेत गराउन सकेका छन् न त अत्यधिक विषादी प्रयोग भएको तरकारी र फलफूल बजारमा पुग्नबाट रोक्न नै सकेका छन् ।
