आयुर्वेदिक र एलोप्याथिक औषधिहरू सँगै प्रयोग गर्ने प्रवृत्ति आजकाल बढ्दो छ । किनकि, धेरैले यी दुवैको संयोजनले छिटो र प्रभावकारी उपचार हुने विश्वास गर्छन् । तर, यो बानी स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित छ त ? आयुर्वेदको प्राकृतिक उपचार र एलोप्याथीको वैज्ञानिक दृष्टिकोणलाई सन्तुलित रूपमा प्रयोग गर्न सकिन्छ, तर कसरी ?
चिकित्सकको सल्लाहबिना यी औषधिहरू मिसाउँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ ।
आयुर्वेद र एलोप्याथी : फरक के ?
आयुर्वेद
यो हजारौं वर्ष पुरानो प्राकृतिक उपचार पद्धति हो । आयुर्वेदमा जडीबुटी, खानपान, योग, ध्यान र जीवनशैली परिवर्तनमार्फत रोगको उपचार गरिन्छ । यसले शरीरको सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जोड दिन्छ । उदाहरणका लागि, अश्वगंधा तनाव कम गर्न र बेसार सुन्निएको समस्या कम गर्न प्रयोग हुन्छ ।
एलोप्याथी
यो आधुनिक चिकित्सा पद्धति हो, जसमा वैज्ञानिक अनुसन्धान र परीक्षणमा आधारित औषधिहरू प्रयोग गरिन्छ । डाक्टरले लेख्ने यी औषधिहरूले खास रोगलाई छिटो नियन्त्रण गर्छन्, जस्तै एन्टिबायोटिकले ब्याक्टेरियल संक्रमण ठिक गर्छ ।
